थुमाको रगतको शक्ति (The Power of the Lamb's Blood)

हाम्रा भाइहरूले तिनलाई भेंडा़को पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरू मृत्युसित डराएका थिएनन्।
- प्रकाश १२ः११

पुरानो करारमा थुमाको रगतको विषयमा यसरी लेखिएको छ "तिमीहरु बसेका घरहरुमा त्यो रगत तिमीहरुका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरुलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने विपत्तिले तिमीहरुलाई छुनेछैन" (प्रस्थान १२ः१३) । यहाँ प्रस्थान १२ अध्यायको १ पद देखी २० पद सम्म परमप्रभुले मोशालाई निस्तार चाडको स्थापनाको विषयमा उहाँको स्पष्ट योजना बताउनुभएको छ ।

परमेश्वर मिश्रमा भएका पहिलो जन्मेकाहरुलाई नष्ट गर्ने योजनामा हुनुहुन्थ्यो । यसको कारण चहिं मिश्रमा भएका झूठा देवताहरुको विरुद्धमा परमेश्वरले आफ्नो शक्तिलाई प्रमाणित गर्नको निम्ति पनि थियो । यसको निम्ति उहाँको एउटा सर्त थियो कि जसको ढोकामा रगत छर्किएको छ त्यस घरको पहिलो जन्मिएको (जेठो) लाई केही गर्नुहुने थिएन । जसको घरको ढोका थुमाको रगत थिएन त्यस घरमा विपत्ती पर्यो । यहाँ बुझ्नै पर्ने कुरा, थुमाको रगत बगाएर मात्र पर्याप्त थिएन तर त्यसलाई प्रयोगमा ल्याउनु नै पथ्र्यो । निस्तारको दिन, एउटा छुटकाराको दिन थियो जसलाई इस्राएलीहरुले मिश्रको दासत्वबाट परमेश्वरले दिनुभएको छुटकाराको स्मरणको निम्ति इस्राएलीहरुले उत्सवको चाड मनाउन शुरु गरे । यो एउटा जातीले मिश्रको राज्यबाट पाएको ताडना र दुःखको अन्त्य र छुटकाराको दिन थियो । यो छुटकाराको नेतृत्व मोशाले गरेका थिए ।

नयाँ करारका यहूदी मतबाट विश्वास गर्ने यहूदी इसाइहरु पनि येशूलाई निस्तारको वलिदान हुनुभएको थुमाको रुपमा स्वीकार गर्दथे । गमलियलको अधिनमा शिक्षा पाएका पावल आफैं पनि लेख्छन्, “मसिह हाम्रो निम्ति वलि हुनुभएको हो” (१ कोरिन्थी ५ः७) । येशू पनि निस्तारको थुमालाई वलि चढाएर रगत बहाउने समयमा नै क्रूसमा चढेर वलि हुनुभएको थियो (यूहन्ना १९ः१४) । निस्ताको थुमाको कुनै पनि हड्डी भाँचिएको हुनुहुँदैनथ्यो, येशूको पनि कुनै हड्डीहरु भाँचिएका थिएनन् (यूहन्ना १९ः३२–३६) । यसको अर्थ थुमा निष्कलङ्क र निष्खोट हुनुपर्छ, कुनै चोट रहित हुनुपर्छ भन्ने पनि थियो । येशूले निस्ताको थुमाको निम्ति राखिएका सम्पूर्ण मापदण्डपूरा गरि वलिदान हुनुभएको थियो । येशूको क्रूसमाको मृत्युअघिको अन्तिम रात्री भोजमा पनि निस्तारचाडको एउटा भोज थियो । येशूले बाँड्नुभएको रगत र शरीरको करार निस्तार चाडको निम्ति सम्झना र अर्को अर्थमा छुटकाराको चिन्ह पनि थियो (लूका २२ः१९–२०) ।

प्रस्थानको पुस्तकमा परमेश्वरले मोशालाई अह्राउनुभएको विवरणमा एउटा पशु थुमा (भेडाको पाठो) दिइएको थियो (प्रस्थान १२ः२९) । यो मिश्री र मिश्रका राजा फारोबाटको छुटकाराको निम्त अन्तिम विपत्ती पनि थियो । वास्तवमै यो विपत्ती पछि चाहिं मिश्री राजा फारोले इस्राएलीहरुलाई छुटकारा पनि दिए (प्रस्थान १२ः१४) । थुमाको रगत बगाउनु, यसको मासु पोलेर खानु र रगत ढोकामा लगाउनु भन्नुभएको थियो । बप्तिसमा दिने यूहन्नाले येशूलाई त्यही थुमाको रुपमा चिनाएका छन् (यूहन्ना १ः२९) । येशूलाई खोट रहित थुमाको रुपमा पत्रूसले उल्लेंख गर्दछन् (१पत्रूस १ः१९) । पापबाट साँचो छुटकाराको रगत बहाउने थुमा येशू हुनुहुन्थ्यो भनेर हिब्रूका लेखकले उल्लेख गरेका छन् (हिब्रू ४ः१५) ।

जसरी मिश्रको बन्धनबाट छुटकाराको निम्ति एउटा थुमा र त्यसको रगत आवश्यक थियो ठीक त्यसैअनुरुप आज पापको बन्धनबाट छुटकाराको निम्ति थुमाको रगको आवश्यकता छ । पहिलो निस्तारको दिन प्रस्थानमा, जसरी निस्तारको थुमाको रगतले विपत्तीबाट जोगाएर एउटा जातीलाई छुटकारा दियो । आज, मानिसजातीलाई छुटकाराको निम्ति थुमा र त्यसको रगतको आवश्यकता थियो र येशूले त्यो आवश्यकता पुरा गर्नुभएको छ । येशूले एउटा थुमाको रुपमा दिनुभएको छुटकारा चाहिं पापबाट अनन्तताको निम्ति दिनुभएको छुटकारा हो । इस्राएलीहरुले पहिले र अहिले पनि यहूदीहरुले मिश्रको छुटकारको सम्झनामा थुमालाई रगत बहाएर सम्झना र उत्सव मनाउँछन् ठीक त्यसै गरी हामीले पनि येशूको रगतको बहाइ र यसबाट हामीलाई संसारको पाप र बन्धनबाट दिनुभएको छुटकाराको सम्झना स्वरुप उहाँको मृत्यु र पुनरुत्थानलाई सम्झनु पर्छ (१ कोरिन्थी ११ः२६) । येशूको रगतले उहाँमा पापको छुटकारा दिंदछ (एफिसी १ः७) । तर येशूको रगत र त्यसको छुटकारासँगै भुल्न नहुने कुरा चाहिं उहाँको दुःख हो । निस्तार चाडमा झैं हामी छुटकारा र त्यसको उत्सवलाई बढी जोड दिन्छौ, यो आवश्यक कुरा हो र महत्वपूर्ण पनि तर यसको निम्ति त्यो थुमाले गुमाएको जीवन, भोगेको दुःखलाई चाहिं महत्वको ठान्दैनौं । येशूमाथि विश्वास गर्ने उहाँका साँचो चेलाको रुपमा हामीले उहाँले भोग्नुभएको दुःखलाई राम्ररी मनन गर्नैपर्छ ।

प्रस्थानमा दिइएको थुमा हरेक घरको निम्ति घरको मालिकले चढाउनु, रगत बहानु र घरको ढोकामा त्यसको रगत छर्कनु पथ्र्यो । त्यस वलिदानले मिश्रबाट छुटकाराको निम्ति निश्चित उद्देश्यलाई पुरा गरेको थियो । अहिले नयाँ करारमा येशूले थुमारुपमा दिनुभएको वलिदानले यी कामहरु गरेको छ:
१. परमेश्वरसँगको सम्बन्धलाई मिलाप: उत्पत्तिमा अनाज्ञा कारिताको कारणले मानिस र परमेश्वरको बिचमा टुटेको सम्बन्धलाई मिलाप गराएर पुनः एक बनाएको छ ।
२. पापबाट छुटकारा: मानिसको पापको छुटकाराको निम्ति एकैपटक सबैको निम्ति वलिदान भएर पापबाट छुटकाराको मोल थुमाको वलिदानले पुरा गरेको छ ।
३. हामीलाई धर्मिकरण: हामी अझ पनि धर्मि भएका होइनौं, शरीर र संसारका अझ पनि पाप दोहोर्याउन सम्भावना छ तर थुमाको रगतले हामीलाई धर्मि ठहर्याएको छ ।
४. हाम्रो शुद्धता: हामी धर्मि ठहर्याइएता पनि सुद्ध र सिद्ध छैनौं तर उहाँको येशूको रुपमा विस्तारै निर्माण हुने क्रममा शुद्धताको प्रक्रियामा छौं ।
५. अंधकारको राजा (शैतान) माथि विजय: हामी थुमाको वलिदान पश्चात अझै पाप र यसको मालिक तथा अंधकारको राजा शैताको दासत्वमा छैनौं तर त्यसमाथि विजय भएका छौं ।

यी त भए केही उपलब्धीहरु जुन येशूको वलिदानबाट हामीले प्राप्त गरेका छौं । निस्तारको थुमाले मिश्रको दासत्वबाट इस्राएलीहरुलाई छुटकारा दिने शक्ति राख्दथ्यो र सो पुरा पनि गर्या । येशू अर्थात थुमाको रगतको शक्तिले अहिले हाम्रो निम्ति के गर्दछ त:
१. हाम्रो मृत्युको चिहानलाई खोल्दछ : एकपटक हामी जन्मसिद्ध पापको कारणले मृत्युको अधिमा थियौं । हामी शारीरिक मृत्युको साथै आत्मिक मृत्युको सिकार पनि थियौं तर येशूको रगतले त्यो आत्मिक मृत्युको चिहानलाई उघारेर हामीलाई जीवित बनाएको छ । हो, शारीरिक मृत्यमा हामी पर्छौं कारण चाहिं एकपटा शरीरमा हामी पापसँगै जन्मिएका छौं तर येशूको रगतको कारणले हामीले चिहान माथि पनि विजय पाएका छौं । यसको अर्थ चाहिं शारीरिक र आत्मक दुवै मृत्यको चिहानमाथिको विजय हो ।

२. हाम्रो निम्ति स्वर्गको ढोकालाई खोल्दछअब शारीरिक र आत्मिक दुवै मृत्यु र यसको चिहानमाथिको विजय पछि हामी र हाम्रो निम्ति स्वर्गको ढोकापनि खोलिएको छ । अब हामी केवल यो संसारको नागरिक मात्र होइनौं तर स्वर्गका नागरिक हौं । यसको अर्थ हाम्रो निम्ति स्वर्ग खुल्ला गरिएको छ ।

३. येशूलाई हाम्रो हृदयको मालिक बनाउँदछ: हाम्रो हृदय चाहिं शरीर र आत्मा दुवैको निम्ति उत्तिकै महत्वपूर्ण भाग हो । शरीर र आत्मा दुवै पक्षलाई चलाउन हृदयको भूमिका महत्वपूर्ण हुदँछ । थुमाको रगतको शक्तिले हाम्रो हृदयको प्रभु उहाँ येशूलाई नै बनाएको छ । तर यसको निम्ति उहाँमाथिको विश्वासको आवश्यकता पर्दछ ।
प्रेमनारायण भट्टराई, शक्तिशाली बप्तिस मण्डली

Comments

Popular posts from this blog

New False Doctrinal Movement- Spiritual Father-Son Relationship

Smoking and Youth in Nepal

सुधारवादी अभियानको ५ सय वर्षः आजको निम्ति उत्सव कि पश्चताप ?